11/09/2026
...........जादुगर फागु...........
मोरङ, सुन्दरहरैचा–१, हरैचाका पुराना फुटबल खेलाडी फागु आले मगरको खेलकौशल, समर्पण, त्याग तथा खेलप्रतिको प्रेमको चर्चा खेलप्रेमी माझ कहिल्यै नमेटिने दन्त्य कथा जस्तै बनेर बसेको छ।
फागु खेलप्रेमीमाझ ‘लम्बु’ उपनामले प्रख्यात थिए। २०२४ सालतिर जन्मिएका उनी २०४०/४२ सालतिरदेखि फुटबल खेल्न सुरु गरेका थिए। झन्डै दुई दशकसम्म नेपालको पूर्वी क्षेत्रमा हुने विभिन्न प्रतियोगितामा उनको उपस्थिति कुनै न कुनै टोलीबाट हुने गर्दथ्यो।
साथै, छिमेकी देश भारतको बिहार, सिक्किम तथा दार्जीलिङ गएर समेत उनले फुटबल खेलेको उनका सहकर्मी साथीहरूले बताउँछन्। उनले एक पटक नेपाल पुलिस क्लबबाट पनि खेल्न गएको बताइन्छ। तर, के कारणले क्लब छाडे भन्नेबारे आफूलाई थाहा नभएको मोरङ फुटबल संघका पूर्वमहासचिव प्रकाश मास्केले बताए।
शारीरिक रूपमा अग्लो कदका फागुको उत्कृष्ट ड्रिब्लिङ, बल कन्ट्रोल, सुटिङ तथा गोल गर्ने क्षमता साँच्चिकै अद्भुत थियो। जब उनको खुट्टामा बल आउँथ्यो, कुनै जादुगरले जादु देखाए जस्तो भान हुन्थ्यो।
अग्रपंक्तिमा खेल्ने उनले मैदानको जुनसुकै स्थानबाट पनि बल प्रहार गरेर गोलरक्षकलाई हेरेको हेर्यै बनाइदिन्थे। अझ डी–बक्स एरियामा कर्नर अथवा सेटपिसबाट आएको बललाई उत्कृष्ट ढंगले कन्ट्रोल गर्दै तत्कालै भली प्रहार गर्न सक्ने उनको क्षमता विशिष्ट प्रतिभाको परिचय थियो।
नेपालका पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीसँग समेत उनको खेलको तुलना हुने गर्दथ्यो। यस हिसाबले उनी कुन स्तरका खेलाडी थिए, हामी सहजै अनुमान गर्न सक्छौँ। फुटबलमा चौधरीजत्तिको यात्रा तय नगरे पनि त्यसबेला फागु आउने खबरले मात्र मैदान खचाखच हुने गर्दथ्यो।
तर, फागुले फुटबल खेलेको त्यो समय आजको जस्तो थिएन।
त्यतिबेला रेडियो, टेलिभिजनजस्ता सञ्चार माध्यममा मानिसको पहुँच सहज थिएन। फोटो खिच्न क्यामेरा पनि बिरलै पाइन्थ्यो। अहिले जस्तो डिजिटल समय थिएन। प्रचार–प्रसारका लागि छापा पत्रपत्रिकाहरू पनि सीमित थिए।
त्यसैले फागु आले मगरको खेलकौशल र लोकप्रियताको चर्चा आजको जस्तो डिजिटल माध्यममा सुरक्षित भएर बस्न सकेन भन्दा पनि हुन्छ।
अहिले जस्तो सामाजिक सञ्जाल र डिजिटल माध्यम त्यतिबेला हुन्थ्यो भने—फागुका पोस्ट, पोडकास्ट, टिकटक, रिल र स्टोरी कति बन्थे होलान्? सायद त्यसको कल्पना मात्रै गर्न सकिन्छ।
फागुलाई मैदानमा देखेका पुस्ताका लागि उनको खेल केवल एउटा सम्झना मात्र होइन, एउटा अविस्मरणीय अनुभव हो।
नयाँ पुस्ताले उनका बारेमा सुन्दा त्यो कथा जस्तो लाग्न सक्छ। तर, उनलाई मैदानमा देखेका र उनको खेल प्रत्यक्ष अनुभव गरेका पुस्ताको स्मृतिमा भने फागुको त्यो जादुमय खेल आज पनि जीवित छ।
सायद त्यसैले त—
फागु केवल एउटा फुटबल खेलाडीको नाम होइन, एउटा पुस्ताले प्रत्यक्ष देखेको फुटबलको जादुगर हुन्।
Didder Ases Ryye Jages Chaudhary अरुण बुतेपाछा चाम्लिङ मिलन राई GoalNepal.com Tirtha Basnet Nishan Dhimal Sonam Chamling Rai fans Om Karki Sanjib Budathoki Madan Limbu Chongbang प्रेम कार्की साईंलो Sugam Karki जयहाङ्ग राई Sonam Ghising Bibek Mishra