25/09/2026
अंग्रेजीमा एउटा कथन छः
Jack of all, master of none.
यसको अर्थ यो लाग्छ कि सबै कुरा जान्ने तर एउटा कुरामा नि पोख्त नहुने।
म चैं मेरी सानी छोरीलाई भनिराख्छु कि Jack of all, master one हुनुपर्छ। सबै कुरा जान्नुपर्छ तर एउटा कुरामा चैं पोख्त हुनुपर्छ चाहे जेसुकैमा होस्। सानो सानो काम, मर्मतहरु गर्न परे पनि छोरीकै अगाडि गर्ने गर्छु। ऊ पेचहरु बटुल्दै बस्छ, म माग्छु, उसले दिञ्छ। कहिले म पनि कस्छु भञ्छ, अनि उसलाई कस्न दिञ्छु। काम केही ढिला हुनसक्छ तर मलाई केहीको हतारो नि छैन। यसले उसलाई बिस्तारै आफ्नो काम आफै गर्ने बानी पर्दै जाञ्छ, काम गर्दा धैर्यता सिक्दै जाञ्छ। मैले नि मेरो बा बाटै सिकेको कुरा हो। कतै पढेर सिकेको पनि हैन। कुनै खेलौना बिग्रेपनि उसले फ्याँक्दैन, बरु मर्मत गर्ने कोशिस गर्छ।
अनि अर्को कुरा, आफूले हासिल गरेको ज्ञान कहिलेयै पनि खेर जाँदैन। कुनै न कुनै समयमा त्यो काम लाग्ने गर्दछ। १४ वर्ष भयो जिम सञ्चालन गरेको। सानोतिनो सामानहरुमा समस्या आइरहञ्छ। अहिलेसम्म माञ्छे बोलाएर मर्मत गर्नुपरेको छैन। आफै गर्ने गरेको छु। सबै कुरा थाहा हुँदैन, गल्ती हुन सक्छ, फेरि दोहोर्याउने हो। यो बौद्धिकता गल्तीबाटै सिकिने कुरा हो। यो हाम्रो जीवनको हरेक सिकाइमा काम लाग्ने गर्दछ।
यसो पछाडि फर्केर हेर्दा हाम्रो पढाइ, सिकाइ आत्मनिर्भर भन्दा परनिर्भर छ। हामी सानोतिनो काम पनि वा सिकाइ पनि अरुमा निर्भर गर्ने गर्छौं। यसको कारण हाम्रो पढाइ हुर्काइ नै पर निर्भर बनाउने खालको छ। किनकि माञ्छेलाई सानैदेखि जस्तो अभ्यास गरायो त्यस्तै हुने हो। अहिले एआईको जमाना आइसकेको छ। यस्तै परनिर्भर मानसिकतालाई यस कृत्रिम बौद्धिकताले नराम्रोसँग आक्रमण गर्दछ। थियोरीले सूचना दिञ्छ, गल्तीले अनुभव दिञ्छ। थियोरी एआई हो, अनुभव वास्तविक बौद्धिकता हो। वास्तविक बौद्धिकता आत्मनिर्भरता हो।
अहिले एआईमा खोज्ने हो भने शरीर बनाउने हरेक उपाय पढ्न सकिञ्छ तर त्यसले अनुभव दिंदैन। व्यायाममा पनि सयौं व्यायामहरु छन्, गर्दनौं तरिकाहरु छन्। हामीले यसमा पनि Jack of all, master of one सूत्र लगाउन सक्छौं। सबै व्यायामका तरिकाहरु सिक्ने, अनुभव गर्ने। जति अनुभव गर्यो त्यति एउटा चिजमा निखार आउँछ, पोख्त भइञ्छ। त्यो ज्ञान, भोगाइ अनि अनुभव अरुलाई पनि बाँड्ने। वास्तविक बौद्धिकतालाई मर्न दिनु हुँदैन।
नमो रुद्राय 🕉🔱🙏