07/10/2026
एउटा गम्भीर प्रश्न
हामी विवाह गर्न तयार भएका हौँ कि केवल विवाह गर्न उमेर पुगेका हौँ?
यो दुईवटा कुरा एउटै होइन।
उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने समाजको नियम छ।
तर परिपक्व भएपछि विवाह गर्नुपर्छ भन्ने जीवनको नियम छ।
आज धेरै मानिस विवाहका लागि तयार छैनन्,
तर विवाहको उमेर भने पुगेको छ।
त्यसैले विवाह हुन्छ।
घर बन्छ।
फोटो खिचिन्छ।
बाजा बज्छ।
फेसबुकमा शुभकामना आउँछ।
तर केही वर्षपछि त्यही घरभित्र
मौनता हुन्छ।
अविश्वास हुन्छ।
अपमान हुन्छ।
झगडा हुन्छ।
मनहरू टाढिन्छन्।
किन?
किनकि दुई जनाले विवाह त गरे,
तर दुई अपरिपक्व मनले जीवनको जिम्मेवारी लिन सिकेका थिएनन्।
हामी विवाहअघि एउटा व्यक्तिको रूप हेर्छौँ।
उसको जागिर हेर्छौँ।
कमाइ हेर्छौँ।
शिक्षा हेर्छौँ।
परिवार हेर्छौँ।
जात हेर्छौँ।
समुदाय हेर्छौँ।
तर एउटा कुरा हेर्न बिर्सन्छौँ
उसको चेतना कस्तो छ?
र अझ गम्भीर प्रश्न
मेरो आफ्नै चेतना कस्तो छ?
किनकि गलत जीवनसाथी मात्र समस्या होइन,
अपरिपक्व आफू पनि सम्बन्धका लागि ठूलो समस्या हो।
तिमीलाई रिस उठ्दा तिमी कस्तो हुन्छौ?
तिमी असफल हुँदा तिमी कस्तो हुन्छौ?
तिमीलाई आफ्नो कुरा नमानेपछि तिमी कस्तो हुन्छौ?
तिमीले गल्ती गर्दा माफी माग्न सक्छौ?
अर्को व्यक्तिले गल्ती गर्दा क्षमा गर्न सक्छौ?
तिमी प्रेममा अधिकार खोज्छौ कि स्वतन्त्रता?
तिमी जीवनसाथी खोज्दैछौ कि आफ्नो इच्छाअनुसार चल्ने मान्छे?
यिनको उत्तर नखोजी विवाह गरियो भने
विवाह दुई जनाको मिलन होइन, दुई अहंकारको संघर्ष बन्न सक्छ।
यौन आकर्षणलाई प्रेम ठान्नु ठूलो भूल हो।
एक्लोपनलाई प्रेम ठान्नु अर्को भूल हो।
कसैको हेरचाह पाउँदा उसैलाई जीवनसाथी ठान्नु अर्को भूल हो।
परिवारले “अब त विवाह गर” भनेपछि विवाह गर्नु अर्को भूल हो।
साथीहरू सबै विवाह गरे भनेर आफू पनि विवाह गर्नु अर्को भूल हो।
बच्चा चाहियो भन्दैमा विवाह गर्नु पनि पर्याप्त कारण होइन।
बच्चा जन्माउन दुई जना मानिस चाहिन्छ,
तर बच्चालाई स्वस्थ वातावरणमा हुर्काउन दुई परिपक्व मानिस चाहिन्छ।
यो कुरा हामीले कहिले बुझ्ने?
विवाहपछि जीवनमा केवल “म” चल्दैन।
मेरो इच्छा।
मेरो पैसा।
मेरो समय।
मेरो निर्णय।
मेरो परिवार।
मेरो स्वतन्त्रता।
यी सबैसँगै आउँछ
हाम्रो इच्छा।
हाम्रो निर्णय।
हाम्रो जिम्मेवारी।
हाम्रो परिवार।
हाम्रो भविष्य।
त्यसैले विवाहअघि एउटा सम्झौता होइन, एउटा संकल्प चाहिन्छ
“सुखमा मात्र होइन, दुःखमा पनि साथ दिन्छु।”
“तिमीलाई नियन्त्रण होइन, सम्मान गर्छु।”
“तिम्रो कमजोरीलाई हतियार बनाउँदिन।”
“तिम्रो सफलतासँग डराउँदिन।”
“गल्ती हुँदा अपमान होइन, संवाद रोज्छु।”
“समस्या आएपछि भाग्दिनँ; समाधान खोज्छु।”
त्यसपछि मात्र विवाहको अर्थ सुरु हुन्छ।
विवाहको पहिरन सुन्दर भएर जीवन सुन्दर हुँदैन।
विवाहको मण्डप ठूलो भएर घर ठूलो हुँदैन।
विवाहमा आएका पाहुनाको संख्या धेरै भएर सम्बन्ध बलियो हुँदैन।
सम्बन्ध बलियो हुन्छ
दुई मानिसको व्यवहारले।
त्यसैले विवाह गर्नुअघि आफैँलाई सोधौँ
“मलाई जीवनसाथी चाहिएको हो,
कि मेरो खालीपन भर्न एउटा मानिस चाहिएको हो?”
यदि खालीपन भर्न हो भने
पहिले आफूभित्र फर्कौँ।
यदि समाजको दबाब हो भने
पहिले आफ्नो निर्णय गर्ने साहस गरौँ।
यदि केवल शरीरको आकर्षण हो भने
पहिले समयलाई केही बोल्न दिऔँ।
यदि आर्थिक आवश्यकता हो भने
पहिले आफ्नो खुट्टामा उभिन सिकौँ।
यदि एक्लोपन हो भने
पहिले आफूलाई आफ्नो साथी बनाउन सिकौँ।
किनकि
आफूसँग बस्न नसक्ने मानिसले अर्को मानिससँग जीवनभर कसरी बस्न सक्छ?
विवाह गरौँ।
तर हतारमा होइन।
विवाह गरौँ।
तर डरले होइन।
विवाह गरौँ।
तर समाजलाई देखाउन होइन।
विवाह गरौँ।
जब प्रेमसँगै विवेक हुन्छ,
आकर्षणसँगै जिम्मेवारी हुन्छ,
स्वतन्त्रतासँगै सम्मान हुन्छ,
र “म” भन्दा “हामी” ठूलो हुन्छ।
त्यही विवाह हो।
त्यही सहयात्रा हो।
त्यही सम्बन्ध हो।
विवाह जीवनको सजावट होइन
जीवनको जिम्मेवारी हो।
त्यसैले विवाह गर्नुअघि मानिस खोज्नुभन्दा पहिले
आफूभित्रको मानिस खोजौँ।
हरि ॐ।
शुभम शुभम शुभम।